Category: राजनीति

  • नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

    नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

    नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ ।

    नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच आज पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो । सहमतिसँगै काठमाडौँको राष्ट्रियसभा गृहमा पार्टी एकता घोषणा सभा सुरु भएको छ ।

    जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने दुई पार्टीबीच सहमति भएको छ ।

    यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पत्रमा उल्लेख छ । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ ।

    यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने तथा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गरिने सहमति पत्रमा उल्लेख छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निष्काषित गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आउनुभएको छ । रासस

  • आज गणेशमान सिंहको १११औं जन्मजयन्ती मनाइँदै

    आज गणेशमान सिंहको १११औं जन्मजयन्ती मनाइँदै

    विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।

    विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

    विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो ।

    काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

    राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भए ।

    जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका छ ।

    प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक रुपमा बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।

    विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताए ।

    विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे ।

    तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे ।

    बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो ।

    जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बने ।

    नेता सिंहलाई विसं २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।

    विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । रासस

  • चुनाव र पार्टी रुपान्तरणबारे रास्वपाको ११ बुँदे निष्कर्ष

    चुनाव र पार्टी रुपान्तरणबारे रास्वपाको ११ बुँदे निष्कर्ष

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।

    देशभरबाट करिब ४ सय आमन्त्रित प्रतिनिधि सहभागी रहेको दुईदिने बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रुपान्तरणबारे गहन छलफल भएको प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, सह-महामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। पाँचै प्रतिवेदनमाथि सात समूहमा छलफल गरी प्राप्त सुझावहरूलाई केन्द्रीय समितिले ग्रहण गर्ने जनाएको छ।

    बैठकले जारी राजनीतिक घटनाक्रमका बीच फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारलाई गम्भीर हुन आग्रह गरेको छ। साथै, विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

    रास्वपाले घोषित निर्वाचनमा जनविश्वास र जनमत आफ्नो पक्षमा केन्द्रित गर्न पार्टीका सम्पूर्ण संरचना, सदस्य र शुभेच्छुकलाई प्रभावकारी अभियानमा जुट्न आह्वान गरेको छ। पार्टीले उम्मेदवार छनोटदेखि प्रचार अभियानसम्मका सबै प्रक्रिया पूर्णतः पारदर्शी र निष्पक्ष हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    बैठकले हालैको जेन-जी आन्दोलनका क्रममा भएका मानवता विरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै, उक्त आन्दोलनको भावना अनुसार राज्य संयन्त्रमा नयाँ पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्ने जोड दिएको छ।

    यस्तै, पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता सुदृढ गर्दै रूपान्तरणको आवाजलाई विधिसम्मत ढंगले सम्बोधन गर्ने र निर्णय प्रक्रियामा सबै तहका सदस्यको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ।

    रास्वपाले देशमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि समान विचार भएका परिवर्तनकारी शक्तिसँग सहकार्य र संवादमा जोड दिने निर्णय गरेको छ। साथै, भ्रष्टाचारमुक्त समाज, पारदर्शी शासन र जनजीविकाको सुधारका पक्षमा निरन्तर पैरवी र दबाबमूलक अभियान चलाइने बताइएको छ।

    बैठकले सभापति रवि लामिछानेमाथि दायर मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै न्यायालयलाई निष्पक्ष र द्रुत न्यायिक प्रक्रियामार्फत् उक्त मुद्दाको निष्कर्ष निकाल्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘सरकारले शक्तिको दुरुपयोग गरी विपक्षी विचारलाई दबाउने प्रवृत्तिले जनताको म्यान्डेटमाथि प्रहार गरेको छ।’

    अप्रत्याशित राजनीतिक परिस्थितिका कारण फागुनमा निर्वाचन तय भएपछि, पार्टीले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने उल्लेख गर्दै, निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी गर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ।

    बैठकले समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आह्वान पनि गरेको छ। सह-महामन्त्री विपिनकुमार आचार्यले तयार पारेको रूपरेखाअनुसार उम्मेदवारले शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, आर्थिक पारदर्शिता र वैध वैवाहिक अवस्था प्रमाणित गर्ने शर्त पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

    रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूचीमा २५ देखि ४० वर्ष उमेरका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत प्रतिनिधित्व दिने निर्णय गरेको छ। साथै, २०७९ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकाहरूलाई पुनः उम्मेदवार बन्न नपाइने व्यवस्था पनि गरिएको छ।

  • माओवादी र समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा : नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

    माओवादी र समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा : नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ ।

    भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो ।

    एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । एकता घोषणा सभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी हुनुभएको छ ।

    एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो ।

    त्यस अवसरमा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएकाले विभिन्न वाम घटकबिच एकता भएको बताउनुभयो । उहाँका अनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ ।

    एकीकृत पार्टीबिच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।

    एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबिच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुने उल्लेख छ । रासस

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।

    कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

    आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

    यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उहाँको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

    यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो । रासस

  • नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता

    नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता

    रोजगारीको अभाव, न्यून पारिश्रमिकलगायत विभिन्न समस्याका कारण देशव्यापी आन्दोलनरत रहेका नर्सहरूको आन्दोलनमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएका छन्।

    शनिबार एक विज्ञप्ती जारी गर्दै नेविसंघले निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित हुनु परेको बताएको छ।

    काठमाडौं, कात्तिक ८ : रोजगारीको अभाव, न्यून पारिश्रमिकलगायत विभिन्न समस्याका कारण देशव्यापी आन्दोलनरत रहेका नर्सहरूको आन्दोलनमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएका छन्।

    शनिबार एक विज्ञप्ती जारी गर्दै नेविसंघले निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित हुनु परेको बताएको छ।

    ‘देशभरका नर्सहरू अहोरात्र बिरामीको उपचार, हेरचाह, आम जनताको स्वास्थ्य सेवामा निस्वार्थ रूपमा समर्पित रहँदै आएका छन् । यद्यपि, निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित छन्,’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

    न्यून पारिश्रमिकले नर्सहरूको जीवन र भविष्यमा गम्भीर असर पारेको भन्दै नेविसंघले नर्सहरूले आफ्ना पेशागत अधिकार, न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेविसंघले ऐक्यबद्धता व्यक्त गरेको हो।

    विज्ञप्तीमा भनिएको छ, ‘अधिकांश नर्सहरूले सरकारी पाँचौँ तह अनुरूपको न्यूनतम पारिश्रमिक कानूनी व्यवस्था छ तर हाल नेपालका नर्सहरु आधा वा झन्डै १५–२० हजार रुपैयाँमा काम गर्न बाध्य छन् । यसले नर्सहरूको जीवन र भविष्यमा गम्भीर असर पारेको छ । यसर्थ, देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ।’

    श्रम ऐन २०७४ अनुसार नेपालमा न्यूनतम ज्याला तोकिए पनि अधिकांश नर्सहरू अझै पनि यस मापदण्डसम्म भित्र पर्न नसकेकोप्रति नेविसंघले चिन्ता व्यक्त गरेको छ।

    नेविसंघले श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्य गर्न ठोस कानूनी तथा नीतिगत सुधारहरू अविलम्ब लागू गर्न संघ नेपाल सरकारसमक्ष जोडदार माग समेत गरेको छ।

  • सरकार र दलका नेताहरुबीच निर्वाचनवारे छलफल

    सरकार र दलका नेताहरुबीच निर्वाचनवारे छलफल

    प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहनुभएको छ ।  फागुक २१ मा निर्वाचन सपन्न गर्नका लागि लागि सरकारले दिदै आएको प्राथामिकता  जेनजी सँगको संवाद  र शुसासनका लागि सरकारले गर्दै आएका गतिविधिमाथि छलफल केन्द्रीत रहेको बताइएको छ ।   निर्वाचनका लागि राजनीतिक दलहरुले राखेको शान्ति शुरक्षाको विषयलाइ मुख्य चासोको रुपमा बैठकमा उठाएका छन् । बैठकमा सहभागी दलका नेताहरुले आफ्नो आफ्नो दलको तर्फबाट निर्वाचनका सम्बन्धमा पार्टीको औपचारीक धारणा राख्नु भएको छ ।

     

    संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुभ।

     

    त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी हुनुहुन्थ्यो । रासस

  • प्रधानमन्त्रीद्वारा राजनीतिक दललाई छलफलका लागि पत्राचार

    प्रधानमन्त्रीद्वारा राजनीतिक दललाई छलफलका लागि पत्राचार

    प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई आगामी फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ।

    प्रधानमन्त्री कार्कीले यही कात्तिक ४ गते साँझ ४ बजे, प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने उक्त छलफलमा सहभागी हुन दलहरूलाई पत्र पठाउनुभएको उहाँका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो।

    छलफलका लागि प्रत्येक राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।

    उक्त छलफलमा सहभागी हुन निमन्त्रणा दिइएका दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। रासस

  • ११ औँ महाधिवेशन पोखरामा गर्ने नेकपा एमालेको निर्णय

    ११ औँ महाधिवेशन पोखरामा गर्ने नेकपा एमालेको निर्णय

    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ ।

    ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    ललितपुरको भनिमण्डलमा शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी । तस्बिर सौजन्यः अध्यक्ष ओलीको सचिवालय/रासस

    एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको तेस्रो तथा अन्तिम दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका सवालमा पार्टीका एकमुष्ट जवाफ दिनुभएको थियो ।

    बैठकले संसद् पुनःस्थापना र जनपरिचाललगायतका निर्णयहरू गरेको छ । बैठकले देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकाले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आम नागरिकलाई आह्वान गरेको छ ।

    जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो । रासस

  • राष्ट्रपतिद्वारा सरकार र जेनजी अभियान्तहरूसँग छलफल

    राष्ट्रपतिद्वारा सरकार र जेनजी अभियान्तहरूसँग छलफल

    राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले सो कुरा बताउनु भएको हो ।

    उहाँले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्नुभयो ।

    राष्ट्रपतिले यो चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

     ‘‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन,’’ राष्ट्रपति पौडेको भनाई उदृत गर्दै पोखरेलले भन्नुभयो–‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । र, युवाहरू बाध्याताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ ।’’

    राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागका बारेमा सरकारले ध्यान दिने स्पष्ट पार्नुभयो ।

    उहाँले भ्रष्टचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रुपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रबर्धन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै यसलाई आन्दोलनको सफलताको रुपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गर्नुभयो ।

    राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गर्नुभयो ।

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले वृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासका प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गर्नुभएको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताउनुभयो ।

    उहाँले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर संर्घष गरेको परिपक्क नेता पनि भएको उल्लेख गर्दै उहाँको भनाइ अन्तष्करणको आवाजका रुपमा लिन आग्रह गर्नुभयो ।

    जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीताविरुद्ध नरहेको स्पष्ट पार्नुभएको थियो ।

    उहाँहरूले आफूहरू सम्पूर्ण रुपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै तर त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आन्दोलनका मागहरू पूरा हुनुपर्ने बताउनु भएको थियो ।

    बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी हुनुहुन्थ्यो ।

    सो बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी हुनुहुन्थ्यो । रासस